उरुग्वेली फरवार्ड डार्विन नुनेज चम्कँदा लिभरपुलले इंग्लिस प्रिमियर लिगमासहज जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा साउथह्याम्टनलाई ३–१ ले पराजित गरेको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलको सहज जितमा नुनेजले दुई तथा रोबर्टाे फिर्मिनोले एक गोल गरे । साउथह्याम्टनका चे एडाम्सले एक गोल फर्काए ।
शनिबार राति भएको खेलको छैटौं मिनेटमा फिर्मिनोको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिन सफल भयो । उनले एन्ड्रिउ रोबर्टसनको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
नवौं मिनेटमा चे एडाम्सले जेम्स वार्ड प्रोजको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २१औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । उनले हार्भे इलिओटको पासमा गोल गर्न सफल भएका थिए ।
४२औं मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै लिभरपुललाई पहिलो हाफमा ३–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो ।
यस जितसँगै लिभरपुल १४ खेलबाट २२ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्टन १२ अंक जोडेर १९औं स्थानमा छ ।