उदयपुरमा नारदमुनी थुलुङ स्मृति गोल्डकपको आठौँ संस्करण आगामी असोज ९ देखि सुरु हुने भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा रहेको नारदमुनि रङ्गशालामा हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ ।
गोल्डकपको विजेताले पुरस्कारस्वरुप रु चार लाख, ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेता टोलीले रु दुई लाख र प्रमाणपत्र पाउने आयोजक बसाहा क्लबका अध्यक्ष शेरबहादुर मगरले जानकारी दिए ।
असोज ९ देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने बसाहा क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । प्रतियोगितामा चारतारे क्लब मोरङ, चर्च ब्वाइज क्लब काठमाडौँ, गोर्खा ब्वाइज स्पोर्ट्स रुपन्देही, गोर्खा स्पोर्टिङ क्लब झापा, भोजपुर जिल्ला फुटबल सङ्घ, एभिनियर क्लब क्यामरुन, डिसिटी सुनसरी र आयोजक बसाहा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
उदयपुरमा आयोजना हुँदै आएका तीन वटा गोल्डकपमध्ये नारदमुनि गोल्डकप गाउँमा हुँदै आएको प्रतियोगिता हो । सदरमुकाम त्रियुगा नगरपालिकामा उदयपुर गोल्डकप र पश्चिमी बजार कटारी नगरपालिकामा कटारी गोल्डकप आयोजना गरिँदै आएको छ । नारदमुनि गोल्डकप भने चौदण्डीगढी नगरपालिका स्थापना हुनुअघि साविक बसाहा गाविस हुँदादेखि नै सुरु भएको यो आठौँ संस्करण हो ।