नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल आजदेखि पोखरामा सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने भए पनि त्यसअघि नै केही खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट आज आइतबारदेखि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा सञ्चालन हुँदैछ । पुरुष क्रिकेट भने यसअघि काठमाडाैंमा भइसकेकाे छ ।
महिला क्रिकेटको उद्घाटन खेल आयोजक गण्डकी प्रदेश र मधेस प्रदेशकाबीचमा हुने कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । यसैगरी आइतबारको दोस्रो खेल सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशकाबीचमा हुँदैछ ।
महिला क्रिकेटमा नौ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा आयोजक गण्डकी प्रदेशसहित सशस्त्र प्रहरीको एपिएफ, मधेस–प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् ।
यसैगरी समूह ‘ख’ मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश नं १ र लुम्बिनी प्रदेश रहेका छन् । नवौँ राष्ट्रिय खेलकुद औपचारिकरुपमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा हुँदैछ । तोकिएको मितिमा समय अपुग हुने भएकाले केही खेलअघि नै सञ्चालन गर्न लागिएको हो ।
गण्डकी प्रदेशमा ४० वर्षपछि दोस्रोपटक राष्ट्रिय खेलकुद हुँदैछ । प्रतियोगितामा देशका सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएको एक गरी ११ टोलीले सहभागिता जनाएका छन् । पोखरासहित गण्डकी प्रदेशका आठ जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका ३६ मध्ये ३५ खेल हुँदैछन् । पूर्वाधार अभावमा सुटिङ खेल राजधानी काठमाडौँमा हुने तय गरिएको छ ।