नेपाल एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणको आफ्नो अन्तिम खेलमा नर्दन मारियाना आइल्याण्डलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’ को विजेता बनेर दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो ।
नेपालले पहिलो खेलमा घरेलु तथा आयोजक प्यालेस्टाइनमाथि पनि ६–० कै फराकिलो जित निकालेको थियो । प्यालेस्टाइनको फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा आइतबार राति भएको खेलमा नेपालको फराकिलो जितमा दीपा शाही र सारा बज्राचार्यले समान दुई तथा सरस्वती हमाल र जेनिफर राणाले समान एक गोल गरिन् । पहिलो हाफमा पाँच तथा दोस्रो हाफमा एक गोल भएको थियो ।
खेलको चौथो मिनेटमा दीपा शाहीले गोलगर्दे नेपाललाई १–० को अग्रता दिलाइन् । छैटौं मिनेटमा सरा बज्राचार्यले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । १९औं मिनेटमा दीपा शाहीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् ।
३०औं मिनेटमा सरस्वती हमालले गाल गरेपछि नेपालले खेलमा ४–० को आरामदायी अग्रता बनाउन सफल भयो । ४५औं मिनेटमा सरा बज्राचार्यले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि नेपालले पहिलो हाफमै ५–० को आरामदायी अग्रता लिन सफल भयो ।
दोस्रो हाफमा भने नेपालले क गोल मात्रै थप्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जेनिफर राणाले गोल गर्दै नेपाललाई ६–० को फराकिलो जित दिलाइन् ।
लगातार दोस्रो जितसँगै समूह ‘बी’ मा नेपालले दुइृ खेलबाट ६ अंक जोड्यो । प्यालेस्टाइन ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा नर्दन मारियाना आइल्यान्ड अंकविहीन हुँदै पुछारमा रह्यो । यो समूहबाट संयुक्त अरब इमिरेट्स (युएईं) ले अन्तिम समयमा नखेल्ने घोषणा गरेको थियो ।
पहिलो चरणबाट ८ समूहको विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।
एएफसी यू–२० महिला एसियन कपमा सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुँदैछ । आयोजक उज्वेकिस्तानसहित २०१९ को विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टोली छनोट भइसकेका छन् ।