स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र क्याडिजबीच जारी खेलका दौरान दर्शकको स्वास्थमा समस्या आउँदा खेल रोकिएको छ ।
खेलको ८५ औं मिनेटमा दर्शकको स्वास्थ्यमा समस्या आएपछि खेल रोकिन पुगेको थियो । घरेलु टोली क्याडिजका गोलरक्षक लेडेज्माले स्वास्थ्य उपकरण तुरुन्त बिरामी दर्शकसम्म पुर्याएका थिए । उनले अकस्मात मुटु रोकिँदा प्रयोग हुने डेफीब्रीलेटर स्वास्थ्य टोलीसम्म पुर्याउन मदत गरेका थिए ।
खेलमा बार्सिलोनाले २-० को अग्रता लिइरहेको थियो । बार्सिलोनाका लागि फ्रेंकी डे जोङ र रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए । तर दर्शक दीर्घामा समस्या देखिएपछि खेल रोकिएको छ । दुवै टोली केहीबेर मैदानमा रहेका थिए । रेफ्रीको आग्रहमा १५ मिनेटपछि दुवै टोली ड्रेसिङ रुममा पसेका थिए ।
खेल रोकिएपछि दुवै टोलीका खेलाडी मैदानमा निकै भावुक देखिएका थिए । घटनाबारे थप जानकारी क्लब र लिग कुनै तर्फबाट आएको छैन ।