लमजुङ सदुमुकाम बेशीसहरमा आयोजना हुने ३०औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
आयोजक त्रिवेणी युवा क्लब लमजुङ बेशीशहरले पुस १३ देखि १९ पुससम्म आयोजना हुने ३०औं त्रिवेणी कपको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता बेशीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा हुनेछ ।
प्रतियोगितामा विभिन्न १४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सार्वजनिक भएको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो देखि छैटौं दिनसम्म दुई खेलमा प्रतिस्पर्धा हुनेछ । सातौं तथा अन्तिम दिन फाइनल खेल मात्रै हुनेछ । पुस १५ सम्म प्रि–क्वाटरफाइनल, पुस १६ र १७ गते क्वाटरफाइनल, १८ गते सेमिफाइनल र १९ गते फाइनल हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ३ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र पाउनेछन् । सेमिफाइनलमा पराजित दुई टोलीले समान ५० हजर प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समान १५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने छ ।
लमजुङकै सर्वाधिक प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता कोरोना महामारी अवधिको १ वर्ष बाहेक निरन्तरण संचालन हुँदै आएको छ ।