भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) बाट तीन गोलले मान्यता नपाएपनि शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकाल्दै आफ्नो शीर्षतालाई थप बलियो बनाएको छ ।
रियलले घरेलु टोली टोली इल्चेलाई ३–० ले पराजित गरेको हो । रियलको जितमा फेडे भाल्भेर्डे, करिम बेन्जेमा र मार्काे एसेन्सियाले गोल गरे ।
इल्चेमा बुधबार राति भएको खेलको छैटौं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन । ११औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।
२६औं मिनेटमा डेभिड अलाबाले गोल गरेपनि पुन भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता नपाउँदा रियलले अग्रता दोब्बर पार्न सकेन । ६१औं मिनेटमा करिम बेन्जेमाको अर्काे गोल पनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।
भिएआरबाट दुई गोलले मान्यता नपाएपनि बेन्जेमाले ७५औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । त्यसपछि परिवर्तित खेलाडी मार्काे एसेन्सियोले गोल गर्दै रियललाई सानदार जित दिलाए ।
एसेन्सियो ८०औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान छिरेका थिए । उनले मैदान छिरेको नवौं मिनेटमा गोल गर्न सफल भएका हुन् ।
यस जितसँगै रियलले शीर्षस्थानमा ६ अंकको अग्रता लिएको छ । अपराजित रहेको रियलको १० खेलबाट २८ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको २२ अंक छ । समान १० खेल खेलेको रियल सोसिडाड २२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।
ला लिगामै रियल सोसिडाडले मलोर्कालाई १–० ले तथा रियल भालाडोलिडले सेल्टा डि भिगोलाई ४–१ ले पराजित गर्दा क्याडिज र रियल बेटिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।