समयस्यै भिसा नआउँदा बिहीबारदेखि सुरु हुने केन्यासँगको पाँच टि२० आई सिरिज अन्तर्गत पहिलो खेल तीन खेलाडीले गुमाउने पक्का भएको छ । आक्रामक अलराउन्डर आदिल अन्सारी, स्पिनर बसिर अहमद र साहब आलमले पहिलो टि२० आई खेल गुमाउने पक्का भएका छन् ।
भिसा समस्याका कारण सोमबार ११ खेलाडी, टेक्निकल एनालिष्ट रमण शिवाकोटी, फिजियो विक्रम न्यौपाने र प्रशिक्षक मनोज प्रभाकर मात्र केन्या भ्रमण गरेका थिए । सोमपाल कामी, विवेक यादव, आदिल, बसिर र साहब भने भिसा समस्याको कारण जान पाएका थिएनन् । त्यस्तै केन्या टोलीको लागि नेपाली टोलीका क्रिकेट म्यानेजर सुनिल महासेठ र ट्रेनर अब्दुल सतार भिसा नआउँदा जान पाएका थिएनन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार उक्त सात जनाको पुन: भिसाको लागि पठाएको थियो । विवेक र सोमपालको मंगलबार राती नै भिसा आएको हुँदा उनीहरु आज बिहान ११ बजे त्यसतर्फ प्रस्थान गरेका थिए । अन्य तीन खेलाडी, म्यानेजर र ट्रेनरको पनि भिसा आएको छ । तर आज राती म्यानेजर र ट्रेनर मात्र जाने क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।
मल्लका अनुसार बाँकी तीन खेलाडी बिहिबार त्यसतर्फ जानेछन् । त्यसैको कारण आदिल, साहब र बसिरले पहिलो खेल गुमाउने पक्का भएको हो । नेपालबाट केन्या पुग्न झण्डै १६ घण्टा लाग्छ । लगातार उडानको कारण विश्राम नपाउने हुँदा सोमपाल कामी र विवेक यादवले पनि पहिलो खेल गुमाउने उच्च सम्भावना छ । बिहीबार जाने तीन खेलाडीले दोस्रो खेल पनि गुमाउने सम्भावना उच्च रहन्छ ।
प्रशान्तका अनुसार पहिलो खेल रोकिने छैन । पहिलो टि२० आई खेल बिहीबार केन्याको नैरोबीमा रहेको जिमखान क्लब ग्राउन्डमा नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा सुरु हुनेछ । सबै टि२० आई खेल दिउँसो ३ : ४५ मा हुनेछन् । तीन एकदिवसिय अभ्यास खेल भने दिउँसो १२ : ४५ देखि सुरु हुनेछ ।
केन्या पुगी सकेका ११ खेलाडी :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, करण केसी, ज्ञानेन्द्र मल्ल, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ र किशोर महतो ।
बुधबार केन्यातर्फ लागेका दुई खेलाडी : सोमपाल कामी र विवेक यादव
बिहीबार जाने तीन खेलाडी : साहब आलम, आदिल अन्सारी र बसिर अहमद
केन्या र नेपालबीचको खेल तालिका
पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५)
दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६)
तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८)
चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९)
पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०)
तीन एकदिवसिय अभ्यास खेल
पहिलो खेल – भदौ १७ (सप्टेम्बर २)
दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३)
तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५)