दुई गोलले पछि परेको स्थिति उल्ट्याएर घरेलु टोली बोरुसिया डर्टमुन्डले बायर्न म्युनिखसँग बराबरी खेल्दै अंक खोस्न सफल भएको छ ।
घरेलु मैदानमा डर्टमुन्डले बायर्नसँग २–२ गोलको बराबरी खेलेको हो । बायर्नका लागि लियोन गोरेट्जका र लिरोए सानेले गोल गर्दा डर्टमुन्डका युसोउफा मौकाको र एन्थोनी मोडेस्टले बराबरी गोल फर्काए ।
सिग्नल इडुन पार्कमा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको ३३औं मिनेटमा लियोन गोरेट्जकाको गोलबाट बायर्नले अग्रता लिएको थियो । उनले जमल मुसिएलाको पासमा गोल गर्न सफल भएका थिए ।
५३औं मिनेटमा जमल मुसिएलाको पासमा लिरोए सानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । तर, बायर्नले दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
७४औं मिनेटमा युसोउफा मौकाकोले गोल गर्दै डर्टमुन्डलाई खेलमा फर्कने संकेत दिए । उनले एन्थोनी मोडेस्टको पासमा गोल गर्न सफल भएका थिए ।
९०औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिन पुग्यो । किङ्सले कोमान दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा एन्थोनी मोडेस्टले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले निकोको पासमा गोल गर्न सफल भएका थिए ।
यस बराबरीसँगै बायर्न ९ खेलबाट १६ अंक जोडेर तेस्रो स्थानमा रहँदा समान १६ अंक नै रहेपनि डर्टमुन्ड गोल अन्तरमा पछि पर्दै चौथो स्थानमा रहेको छ ।