लियान्द्रो ट्रोसार्डको ह्याट्रिकमा मर्सिसाइड क्लब लिभरपुल इंग्लिस प्रिमियर लिगमा ब्राइटनसँग बराबरीमा रोकिएको छ ।
घरेलु मैदानमा लिभरपुलले दुई गोलले पछि परेपनि पूनरागमन प्रयास गरेपनि ट्रोसार्डले ह्याट्रिक पूरा गरेपछि लिभरपुलले ब्राइटनसँग ३–३ गोलको बराबरी खेलेको हो । एनफिल्डमा घरेलु टोली लिभरपुलका लागि रोबर्टाे फिर्मिनो दुई तथा एक गोल उपहार पाएको थियो ।
खेलको चौथो मिनेटमा ट्रोसार्डको गोलबाट लिभरपुल पछि पर्यो । उनले ड्यानी वेलब्याकको पासमा गोल गर्न सफल भएका थिए । १७औं मिनेटमा ट्रोसार्डले सोली मार्सको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि ब्राइटन खेलमा २–० ले अघि बढ्यो ।
३३औं मिनेटमा रोबर्टाे फिर्मिनोले मोहम्मद सलाहको पासमा गोल गर्दै लिभरपुललाई खेलमा फर्कने संकेत दिए । ५४औं मिनेटमा फिर्मिनोले लुई डियाजको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
६३औं मिनेटमा एडाम वेभस्टेरले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा ३–२ को अग्रता लिन सफल भयो । तर, ८३औं मिनेटमा ट्रोसार्डले ह्याट्रिक पूरा गरेपछि लिभरपुल जितबाट वञ्चित बन्यो ।
यो बराबरीसँगै लिभरपुल ७ खेलबाट १० अंक जोडेर नवौं स्थानमा तथा ब्राइटन १४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।