इंग्लिस प्रिमियर लिग अन्तर्गत फिफा विश्वकपको विश्रामपछि भएको पहिलो खेलमा टोटेनहम हट्सपर र ब्रेन्टफर्डले अंक बाँडेका छन् । घरेलु टोली ब्रेन्टफर्डले २-० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा २-२ को बराबरीमा चित्त बुझायो ।
ब्रेन्टफर्ड भिटाली जानेल्ट र आइभन टोनीको गोलमा अघि बढेको थियो । टोटेनहमका लागि विश्वकपबाट फर्केका ह्यारी केन र पिएर एमिल होएबिएरले गोल गर्दै खेलमा फर्काए । खेलको अन्त्यतिर टोटेनहमले लगातार दबाब सिर्जना गरेपनि जित हासिल गर्न भने सकेन ।
१५ औं मिनेटमा जानेल्टले घरेलु टोलीलाई अघि बढाएका थिए । वैकल्पिक गोलरक्षक फ्रेजर फ्रोस्टरले सुरुवाती प्रहार बचाउने प्रयास सफल नहुँदा उनी गोल गर्न सफल भए । विश्वकप फाइनल खेलेका स्पर्स तथा फ्रान्सका कप्तान ह्युगो लोरिस बेन्चमा रहँदा फ्रोस्टरले अवसर पाएका थिए ।
दोस्रो हाफको ५४ औं मिनेटमा आइभन टोनीले ब्रेन्टफर्डको अग्रता दोब्बर पारे । तर टोटेनहमले ६ मिनेटको अन्तरमा २ गोल गर्दै खेलमा पुनरागमन गरे । केनले क्लेमेन्ट लेंगलेटको क्रसलाई हेडरमार्फत गोलमा परिणत गरे । त्यसपछि होएबिएरले पेनाल्टी क्षेत्रभित्र क्लियर हुन नसकेको बललाई पोस्टको दिशा दिए ।
यस नतिजासँगै टोटेनहम चौथो स्थानमा नै रहेको छ । टोटेनहमको १६ खेलमा ३० अंक छ । ब्रेन्टफर्ड १६ खेलमा २० अंकसहित नवौं स्थानमा छ ।