जर्मन बुन्डेसलिगामा कमजोर सुरुवात गरेको साविक विजेता बायर्न म्युनिखले शनिबार सिजनको पहिलो हार बेहोरेको छ । बायर्नले अग्सबर्गको मैदानमा १-० को हार बेहोरेको हो ।
घरेलु टोली अग्सबर्गका लागि मेर्गिम बेरिशाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । उनले इयागोको पासमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा सहजै गोल गरेका थिए । बायर्नले खेलको अधिकांश समय बल पोसेसनमा पकड जमाएपनि पाएको अवसर सदुपयोग गर्न सकेन ।
बायर्नले जर्मन लिगको पछिल्लो ४ खेलमा जित हासिल गर्न सकेको छैन । सुरुवाती तीन खेलमा जित हासिल गरेको बायर्नले त्यसयता लगातार ३ खेल बराबरी गरेको थियो । यस हारले टोलीको ७ खेलमा ३ जित, ३ बराबरी र १ हारले १२ अंक भएको छ ।
सुरुवाती तीन खेलमा १५ गोल गर्दै १ गोल खाएको बायर्नले त्यसयताको ४ खेलमा भने खराब प्रदर्शन गरेको छ । टोलीले ५ गोल खाँदै ४ गोल मात्र फर्काएको छ । रोबर्ट लेवान्डोस्कीले क्लब छाडेसँगै बायर्नले मुख्य फरवार्डको कमी महसुस गरेको हो ।
बायर्नले च्याम्पियन्स लिगमा भने सुरुवाती दुवै खेल जितेको छ । ग्रुप अफ डेथमा रहेको बायर्नले इन्टर मिलान र बार्सिलोनालाई समान २-० को अन्तरले पराजित गरेको हो ।