इटालियन सिरी ‘ए’को क्लब नापोलीले युइएफए च्याम्पिन्स लिग फुटबलमा आयक्समाथि ६–१ गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ ।
१ गोलले पछि परेको नापोलीले अग्रता उल्टाउँदै फराकिलो जित दर्ता गर्दै समूह एमा अपराजित यात्रा कायमै राखेको हो ।
नापोलीले च्याम्पियन्स लिगका ३ खेलमा शतप्रतिशत नतिजा निकाल्दै ९ अंकका साथ आफूलाई शीर्ष स्थानमा राखेको छ ।
नेदरल्यान्ड्सको क्लब आयाक्सले नवौँ मिनेटमा मोहम्मद कुडुसको गोलबाट अग्रता लिएको थियो ।
पाहुना टोली नेपोलीका जियाकोमो रास्पाडोरीले १८औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
३३औँ मिनेटमा जियोभानी डी लोरेन्जोले गरेको गोलबाट नापोलीले अग्रता लिएको थियो ।
४५औँ मिनेटमा पिएट्र जेलिनस्कीले गोल गरेपछि नापोलीले अग्रता ३–१ बनायो ।
४७औँ मिनेटमा रास्पाडोरीले गरेको गोलले फराकिलो अग्रता बनाएको नापोलीले त्यसपछि पनि २ गोल थपेको थियो ।
६३औँ मिनेटमा खिचा कारात्सखेलियाले नापोलीका लागि पाँचौँ गोल गरेका थिए ।
८१ औं मिनेटमा जियोभानी सिमोनीले अर्को गोल गरेपछि नापोली ६–१ गोलको फराकिलो अन्तरले विजयी भयो ।
यही समूहमा रहेको इंग्लिस प्रिमियर लिगको क्लब लिभरपुलले रेन्जर्सलाई २–० ले हराएको थियो ।
लिभरपुलको जितमा ट्रेन्ट आर्नोल्डले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
५३ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै २–० को जित दिलाए ।
समूह एमा नापोली ९ अंकका साथ शीर्ष स्थानमा छ भने लिभरपुल ६ अंकका साथ दोस्रो स्थानमा रहँदा अजाक्स ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
रेन्जर्सले भने तालिकामा अंक जोड्न सकेको छैन ।