फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको सानदार प्रदर्शनमा तनावपूर्ण बनेको खेलमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा विजयी भएको छ ।
१० खेलाडीमा समेटिएको घरेलु टोली एट्लेटिको म्याड्रिडले ९ खेलाडीमा समेटिएको इल्चेमाथि २–० को सहज जित हात पारेको हो ।
वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा जोआओ फेलिक्स र अल्भारो मोराटाले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
कार्डको वर्षा भएको खेलको पहिलो हाफमै पाहुना टोली १० खेलाडीमा समेटिन पुगेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गोन्जालो भेर्डुले सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो ।
दोस्रो हाफको शुरुमै घरेलु टोली एट्लेटिको म्याड्रिड पनि १० खेलाडीमा समेटिन पुग्यो । मारियो हर्माेसो तीन मिनेटको अन्तरमा दुई पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । उनी ५३औं मिनेटमा मैदानबाट बाहिरन पुगे ।
त्यसपछि ५६औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गर्न सफल भएका थिए ।
७४औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई २–० ले अघि बढाए । उनले ग्रिजमनकै पासमा गोल गर्न सफल भएका थिए ।
खेलको अन्त्यतिर इल्टे ९ खेलाडीमा समेटिन पुग्यो । परिवर्तित खेलाडी क्विइना दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । क्विइना ८३औं मिनेटमा राहुल गुटीको स्थानमा मैदान छिरेका थिए ।
त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको विजयी हुन सफल भयो । रेफ्री गुइलेर्माेले यस खेलमा तीन रातो कार्डसहित सात पहेलो कार्ड देखाएका थिए ।
यस जितसँगै एट्लेटिको १५ खेलबाट २७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियल सोसिडाडको २६ अंक छ । पराजित इल्चे ४ अंक जोडेर पुछारमा छ ।