इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा ब्राजिली मिडफिल्डर क्यासमिरोले गोल गरेपछि म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ ।
युनाइटेडले घरेलु टोली चेल्सीसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । चेल्सीका लागि जर्गिन्होले पेनाल्टीमा गोल गरेपनि त्यसलाई जोगाउन नसक्दा अंक बाड्न बाध्य बन्यो ।
स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको ८७औं मिनेटमा जर्गिन्होले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । बेन चिलवेलको कर्नरमा अर्मान्डो ब्रोजाले बल नियन्त्रणमा लिने क्रममा स्कट म्याकटोमिनेले फउल गर्न पुगेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गर्दा जर्गिन्हो चुकेनन् ।
तर, त्यो अग्रतालाई चेल्सीले बचाउन सकेन । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा क्यासमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए । लुके साको क्रसमा क्यासमिरोको हेडर पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।
यस बराबरीसँगै चेल्सी ११ खेलबाट २१ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा युनाइटेड १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।