नेपाल केन्यासँग दोस्रो टी २० क्रिकेट खेलमा १८ रनले पराजित भएको छ ।
नैरोवीको जीमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा सबै विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो ।
यो नतिजापछि केन्याले सिरिजमा १–१ को बराबरी गरेको छ । अब ३ वटा टी २० म्याच बाँकी रहेका छन् ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाउँदा रोहित पौडेल र आदिल अन्सारीले २०–२० रनको योगदान गरे ।
पवन शर्राफ १९ रनमा पभेलियन फर्किँदा सन्दीप लामिछानेले ८ तथा करण केसीले ६ रनको योगदान गरेका थिए ।
दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी २–२ तथा ज्ञानेन्द्र मल्ल १ रनमा आउट भएका थिए ।
केन्याका लुकास ओलुओच, इमानुएल बुन्डी र भिराज पटेलले २–२ विकेट लिएका थिए ।
टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाउन सक्यो ।
केन्याका लागि रकिप पटेलले सर्वाधिक ३५ रन बनाउँदा नेहिमामले २९ रन जोडेका थिए ।
इरफान करिमले २२ रन जोड्दा सचिन बोडियाले १४ रनको योगदान गरे ।
नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिँदा करण केसीको नाममा २ विकेट रह्यो ।
पवन शर्राफले १ विकेट लिँदा आजै डेब्यु गरेका बसिर अहमद भने विकेटविहीन बने ।