फ्रान्सेली सेन्टर ब्याक जुल्स कुन्डेले आफ्नै पुर्व क्लब सेभियाविरुद्ध दुई गोलको लागि असिस्ट दिएपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ ।
बार्सिलोनाले सेभियालाई उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । बार्सिलोनाको सहज जितमा यसै समरमा क्लबमा भित्रिएका राफिन्हा र रोबर्ट लेवान्डोस्कीसँगै एरिक गार्सियाले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थपेको छ ।
रमन सान्चेज पिजुआन सेभियामा शनिबार राति भएको खेलको २१औं मिनेटमा ब्राजिली फरवार्ड राफिन्हाको गोलबाट बार्सिलोनाले १–० को अग्रता लिएको थियो । औसमाने डेम्वेलेको पासमा रोबर्ट लेवान्डोस्कीको प्रहारलाई डिफेन्डर फर्नान्डोले क्लियर गरेपनि रिवाउन्डमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
३६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । जुल्स कुन्डेको पासमा लेवान्डोस्कीले गोल गर्न सफल भएका हुन् । जुल्स कुन्डेले आफ्नो पुर्व क्लबविरुद्ध गोलको लागि असिस्ट प्रदान गरे ।
५०औं मिनेटमा एरिक गार्सियाले कुन्डेकै पासमा गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए । यसै समरमा सेभिया छाडेर बार्सिलोना पुगेका कुन्डेले आफ्नो पहिलो खेलमै प्रभाव जमाउन सफल भए । त्यसपछि थप गोल निस्कन नुक्दा बार्सिलोना विजयी हुन सफल भयो ।
लगातार तेस्रो जितसँगै बार्सिलोना ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा २ अंकले पछि छ । रियलले शत प्रतिशत जित निकालेको छ । मुख्य खेलाडीले क्लब छाडेसँगै कमजोर देखिएको सेभिया १ अंक जोडेर १७औं स्थानमा छ ।