रोल्पा — भारतको जम्मु-कश्मीरमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो खेल प्रतियोगितामा स्वर्ण पदक पाउने नेपाली खेलाडीलाई उनी पढेको विद्यालयले सम्मान गरेको छ ।
अघिल्लो महिना कश्मीर इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा जित हासिल गरेका लिबाङस्थित बालकल्याण नमुना माविका पूर्वविद्यार्थी वीरेन्द्र डाँगीलाई विद्यालयमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।
उनले भारतमा हालै आयोजित ५४ केजी समूहमा स्वर्ण पदक हासिल गरेका थिए । उनले यसअघि पनि इन्डो–नेपाल इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप प्रतियोजितामा रजत पदक प्राप्त गरेका थिए । नेपालमा राष्ट्रियस्तरका दर्जनौं खेलमा वीरेन्द्रले सहभागी भई थुप्रै पदक पाएका छन् ।
उनले काठमाडौं मेयर कप प्रतियोगितामा रजत पदक, उपराष्ट्रपति कप प्रतियोगितामा कांस्य पदक पाएका थिए । २०७३ सालदेखि खेल्न थालेका उनीसँग ब्ल्याक बेल्ट सेकेन्ड डन दक्षता छ ।
रोल्पा सदरमुकाम लिबाङस्थित बालकल्याण माविबाट उनले २०७६ सालको एसईई उत्तीर्ण गरेका थिए । उनी अहिले दाङको घोराहीस्थित इमेज इन्जिनियरिङ कलेजमा अमिन विषय अध्ययनरत छन् । खेल क्षेत्रमै चासो र सफलता पाएकोमा उनको जन्म गाउँ त्रिवेणी गाउँपालिकाले उनलाई सम्मान समेत गरेको छ । भारतमा पुगेर खेल जित्नेमा रोल्पा थबाङका अर्का खेलाडी रिमोट झाँक्री मगर पनि हुन् ।
उनका काका अर्जुन डाँगीले वीरेन्द्रले आफ्नै खर्चमा खेल प्रतियोगितामा भाग लिएको बताए । ‘राष्ट्रपति कपबाहेक सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा भाग लिँदा आफ्नै लगानी लागेको छ,’ उनले भने, ‘सफलता पनि प्राप्त भएको छ । यसरी खेल खेल्दा लाखौं खर्च भइसकेको छ ।’
खेलप्रति अत्यधिक रुचि भएकाले परिवारले पनि साथ दिँदै आएका छन् । उनका बाआमाले लिबाङमा होटेल चलाएर खेल खेल्दा र पढ्दा लाग्ने खर्च जुटाउँदै आएका छन् । वीरेन्द्रका बुबा गोकर्णले छोराले खेलप्रति चासो राखेकाले सहयोग गर्दै आएको बताए ।
तर थुप्रै खेलमा भाग लिएका खेलाडी वीरेन्द्रले भने खर्च गरेरै आफै खेलमा सहभागी हुने गरेको बताए । उनी गुनासो गर्छन्, ‘भन्ने त राष्ट्रका लागि खेल खेल्नुपर्छ भन्ने भनाइ छ, तर राष्ट्रले किन हेर्दैन ?’
खेल क्षेत्रमै लागेर यसैबाट मुलुकको नाम चम्काउने उनको उद्देश्य छ । तर आफूजस्तै खेलाडी समस्यासँग जुध्न नसकी पलायन भएको देख्दा उनको मन दुःख्छ । खेल क्षेत्रमा लागेका पूर्वविद्यार्थी वीरेन्द्रलाई सम्मान गर्न पाउँदा खुसी लागेको बाल कल्याण माविका प्रधानाध्यापक मधुसुदन पोख्रेलले बताए । अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक जितेर विद्यालयको शिर ठाडो पारेकोमा सम्मान गरिएको उनले बताए ।