एशिया कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको खेलमा श्रीलंका ५ विकेटले विजयी भएको छ ।
आज भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई पराजित गरेको हो ।
श्रीलंका र पाकिस्तान दुवै फाइनलमा प्रवेश गरिसकेका टिम हुन् ।
यी दुई टिम नै उपाधिका लागि आइतबार खेल्ने छन् ।
सुपर फोरमा भारत र अफगानिस्तानलाई दुवै टिमले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
आजको विजेता श्रीलंका शीर्ष स्थानमा रहँदा पाकिस्तान दोस्रो स्थानमा रह्यो ।
दुवईमा जारी प्रतियोगिता अन्तर्गत आजको खेलमा पाकिस्तानले श्रीलंकालाई १२२ रनको लक्ष्य दिएको थियो ।
श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । श्रीलंकालाई पथुम निसंकाले ५५ रनको अर्धशतकीय नटआउट पारि खेले ।
श्रीलंकाको सुरुआत भने राम्रो रहेन । कुशल मेन्डिस र धनुष्का गुनथिलकाले खाता नै खोल्न सकेनन् ।
धनन्जय डी सिल्भा ९ रनमा पभेलियन फर्किए पछि निसंका र भानुका राजपक्षेले पारि सम्हालेका थिए ।
भानुका २४ रन बनाएर आउट भएका थिए । कप्तान दासुन सनकाले २१ रन बनाएका थिए ।
वेनन्दू हसरंगा र निसंकाले क्रमश १० र ५५ रनको नटआउट पारि खेल्दै जीत दिलाए ।
पाकिस्तानका मोहम्मद हसनिन र हेरिस रौफले दुई दुई विकेट लिए ।
पहिला ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा सवै विकेट गुमाएर १२१ रन बनाएको थियो ।
उसका लागि बाबर आजमले ३० रनको पारि खेल्दा मोहम्मद नवाजले २६ रन बनाए ।
मोहम्मद रिजवानले १४ रन बनाउँदा फकर जमा र इफ्तिकर अहमदले १३–१३ रन बनाए ।
वानेन्दू हसरंगाले ३ विकेट लिँदा महेश तिक्षण र प्रमोद मदुसनले दुई दुई विकेट लिए ।