फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी चम्कँदा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राख्न सफल भएको छ ।
नान्टेसलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै पिएसजी अपराजित रहेको हो । १० खेलाडीमा समेटिएको नान्टेसमाथि पिएसजीको जितमा एमबाप्पेले दुई तथा नुनो मेन्डिसले एक गोल गरे ।
नान्टेसमा शनिबार राति भएको खेलको १८औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो । उनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए । २४औं मिनेटमा घरेलु टोली नान्टेस १० खेलाडीमा समेटिन पुग्यो । फावियो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली समस्यामा परेको थियो ।
नान्टेस १० खेलाडीमा समेटिन पुगेपनि पिएसजीले दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५४औं मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ६८औं मिनेटमा मेन्डिसले गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।
यस खेलमा प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले लयमा रहेको ब्राजिली फरवार्ड नेयमारलाई दोस्रो हाफमा एमबाप्पेको स्थानमा मैदान प्रवेश गराएका थिए । तर यो सिजन लिग वानको ५ खेला ७ गोल र ६ असिस्ट दिएका नेयमारले गोल गर्न सकेनन् ।
यो जितसँगै अपराजित रहेको पिएसजी ६ खेलबाट ५ जित र १ बराबीसँगै १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान १६ अंक नै रहेपनि मार्से गोल अन्तरमा दोस्रो स्थानमा छ । पराजित नान्टेस ६ अंक जोडेर १०औं स्थानमा छ ।