फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडको गोलमा साविक विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा फ्रान्सले अष्ट्रियालाई २–० ले पराजित गरेको हो ।
स्टेड डि फ्रान्समा बिहीबार राति भएको खेलमा फ्रान्सले दुवै गोल दोस्रो हाफमा गरेको थियो । बल पोसेसन राख्दै पाहुना टोलीमाथि दवा बढाएपनि फ्रान्सले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
५६औं मिनेटमा एमबाप्पेको गोलबाट फ्रान्सले अग्रता लिन सफल भयो । उनले जिरुडको पासमा गोल गर्न सफल भएका थिए । यो उनको ५७ क्यापमा २७औं गोल हो ।
६५औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । उनले एन्टोइन ग्रिजमनको पासलाई सदुपयोग गरेका थिए । उनको यो ४८औं अन्तर्राष्ट्रिय गोल हो । उनी फ्रान्सको सर्वाधिक गोलकर्ताको सुचीमा दोस्रो स्थानमा रहेका छन् । उनीभन्दा अघि थिएरी हेनरी (५१) शीर्षस्थानमा रहेका छन् ।
यस जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित अष्ट्रिया ४ अंक जोडेर पुछारमा छ ।