स्पेनिस क्लब रियल म्याड्रिडका इटालियन प्रशिक्षक कार्लाे एन्सेलोटी युइएफए पुरुष वर्ष प्रशिक्षक घोषित भएका छन् ।
टर्कीको इस्तानबुलमा बिहीबार राति भएको समारोहमा एन्सेलोटीले इंग्लिस क्लब लिभरपुलका योर्गेन क्लोप र म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलालाई पछि पार्दै युइएफए पुरुष वर्ष प्रशिक्षक बनेका हुन् ।
रियल म्याड्रिडलाई कीर्तिमानी १४औं पटक च्याम्पियन्स लिग जिताएका ६३ वर्षीय एन्सेलोटीले ५२६ अंक प्राप्त गरे । उनका निकटतम् प्रतिद्धन्द्धी योर्गेन क्लोपले २१० र ग्वार्डिओलाले १०८ अंक प्राप्त गरे । आइनट्राख्ट फ्रान्कफुर्टका ओलिभर ग्लासनेरले ७५, भिल्लारियलका युनाई इम्रीले ७४ तथा रोमाका जोसे मौरिन्हाले ५१ अंक प्राप्त गर्दै शीर्ष ६ मा रहे ।
एन्सेलोटीको प्रशिक्षणमा रियलले गत सिजन च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र स्पेनिस सुपर कप जित्न सफल भएका थिए । स्पेनिस क्लब रियल म्याड्रिडकै फ्रान्सेली फरवार्ड करिम बेन्जेमा युइएफए वर्ष पुरुष खेलाडी बनेका छन् ।
युइएफए वर्ष खेलाडी महिलातर्फ स्पेन तथा बार्सिलोनाकी एलेक्सा पुटेलास तथासरिना वेइगमान वर्ष महिला प्रशिक्षक बनेकी छिन् । एरिगो साच्चीले प्रेसिडेन्ट अवार्ड जिते ।