लुइस एनरिकेले स्पेनिस राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक पद छाडेका छन् । फिफा विश्वकप कतार २०२२ को अन्तिम १६ खेलमा मोरक्कोसँग पराजित भएपछि एनरिके दबाबमा थिए ।
स्पेनिस फुटबल महासंघले विहीबार एक विज्ञप्ति जारी गर्दै एनरिकेले आफ्नो पद छाडेको जानकारी दिएको छ । फिफा विश्वकपमा उपाधि दावेदार मानिएको स्पेन मोरक्कोसँग पराजित हुँदै बाहिरिएको थियो । टाइब्रेकरमा ३-० को हार बेहोरेको स्पेनले समूह चरणमा राम्रो सुरुवात गरेको थियो । कोस्टारिकालाई ७-० ले हराएको स्पेन दोस्रो खेलमा जर्मनीसँग अग्रता लिएपनि १-१ को बराबरीमा रोकियो ।
समूहको अन्तिम खेलमा स्पेनलाई जापानले २-१ ले स्तब्ध पारेको थियो । समूह उपविजेताको रुपमा अघि बढेको स्पेन अन्तिम १६ मा मोरक्कोसँग टाइब्रेकरमा पराजित हुन पुग्यो । अझ प्रशिक्षक एनरिकेले मोरक्कोविरुद्ध खेलको अघिल्लो दिन खेलाडीहरुलाई १ हजार पेनाल्टी प्रहार गर्न लगाएको बताउनु र स्पेनले टाइब्रेकरमा गोल नै गर्न नसकेको तथ्य जोड्दै उनको सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ ।
५२ वर्षीय एनरिकेले राष्ट्रिय टोलीका लागि दुई पटक गरेर ४५ खेलमा जिम्मेवारी लिएका थिए । यसक्रममा उनले २५ जित, ११ बराबरी र ९ हारको नतिजा निकाले । सन् २०१८ विश्वकपपछि स्पेनको जिम्मेवारी पाएका उनले पारिवारिक कारणले एक वर्षमै बिदा लिएका थिए ।
सन् २०२० सेप्टेम्बरमा पुन: टोलीमा फर्केका एनरिकेले युरो २०२० मा स्पेनलाई सेमिफाइनलसम्म पुर्याएका थिए । यसपटक भने टोलीको यात्रा क्वाटरफाइनलमा नपुग्दै सकिएपछि उनले पद छाड्ने निर्णय गरे ।