स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा हार बेहोरेको छ । एट्लेटिको जर्मन क्लब बायर लिभरकुसनसँग उसकै मैदानमा २–० ले पराजित भएको हो ।
बेएरिना लिभरकुसनमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा रोबर्ट एन्डरिच र मोउसा डियावीले गोल गरे । दुवै गोलको खेलको अन्त्यतिर चार मिनेटको अन्तरमा भएको थियो ।
रोमाञ्चक खेलको ८४औं मिनेटमा रोबर्ट एन्डरिचले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले जेरेमी फ्रिमपोङको पासमा गोल गर्न सफल भएका थिए । ८७औं मिनेटमा जेरेमी फ्रिमपोङकै पासमा मोउसा डियावीले गोल गर्दै लिभरकुसनको जित पक्का गरे ।
यही समूहको अर्काे खेलमा क्लब ब्रुगले एफसी पोर्टाेमाथि ४–० को फराकिलो जित निकालेको छ । क्लब ब्रुगको जितमा फेरान जुट्ग्ला, कमल सोवाह, एन्ड्रिएस स्कोभ ओल्सेन र एन्टेनियो नुसाले गोल गरे ।
यस नतिजापछि क्लब ब्रुग दुई जितसँगै ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक रहेपनि लिभरकुसन र एट्लेटिको हेड टु हेडमा दोस्रो र तेस्रोमा छ । पोर्टाेले अंकको खाता खोल्न सकेको छैन ।
अन्य नतिजा
समूह ‘ए’ – लिभरपुलविरुद्ध आयाक्स (२–१)
समूह ‘बी’ – बायर लिभरकुसनविरुद्ध एट्लेटिको म्याड्रिड (२–०) र एफसी पोर्टाेविरुद्ध क्लब ब्रुग (०–४)
समूह ‘सी’ – भिक्टोरिया प्लेजेनविरुद्ध इन्टर मिलान (०–२) र बायर्नविरुद्ध बार्सिलोना (२–०)
समूह ‘डी’ – स्पोर्टिङ सिपीविरुद्ध टोटेनहम (२–०) र मार्सेविरुद्ध फ्रान्कफुर्ट (०–१)