इटालियन सिरी ‘ए’ मा इन्टर मिलान र युभेन्ट्सले हार बेहोरेको छ । इन्टर मिलानले घरेलु टोली उडिनेससँग ३–१ ले पराजित भएको हो ।
सुरुवाती अग्रता लिनका बावजुत त्यसलाई जोगाउन नसक्दा इन्टरले यस सिजन तेस्रो हार बेहोरेको हो । डासिया एरिनामा आइतबार राति भएको खेलको पाँचौं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इन्टरले सुरुवाती अग्रता लियो । तर, २२औं मिनेटमा मिलान स्क्रिनिएरले आत्मघाती गोल गरेपछि घरेलु टोली उडिनेस खेलमा फर्किएको थियो ।
८५औं मिनेटमा जाका विजोलले गोल गर्दै उडिनेसलाई २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा टोल्गे अर्सलानले गोल गर्दै उडिनेसलाई सानदार पूनरागमन जित दिलाए ।
यस जितसँगै उडिनेस ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित इन्टर १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
अर्काे खेलमा १० खेलाडीमा समेटिएको युभेन्ट्स मोन्जासँग १–० ले स्तब्ध हुँदै सिरी ‘ए’ मा पहिलो हार बेहोरेको छ । युभेन्ट्सलाई हराउन दोस्रो हाफमा क्रिस्टियनले गरेको गोल नै निर्णायक बन्यो । उनले ७४औं मिनेटमा गोल गरेका थिए ।
त्यसअघि युभेन्ट्स पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । एन्जल डि मारिया सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसको फाइदा मोन्जाले दोस्रो हाफका उठाउन सफल भयो ।
पहिलो जित निकालेको मोन्जा ७ खेलबाट ४ अंक जोडेर १८औं स्थानमा रहेको छ । पहिलो हार बेहोरेको युभेन्ट्स १० अंक जोडेर आठौं स्थानमा छ ।