शीर्ष दौडमा रहेका म्यानचेस्टर सिटी बराबरीमा रोकिदा लन्डन क्लब आर्सनलले आफ्नो खेलमा जित निकाल्दै इंग्लिस प्रिमियर लिगमा ७ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ ।
आर्सनलले घरेलु टोली ब्राइटनलाई ४–२ ले पराजित गर्दै शीर्षस्थानमा ७ अंकको अग्रता बनाउँदै उपाधि यात्रालाई थप मजवुत बनाएको हो ।
दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनलको जितमा बुकायो साका, मार्टिन ओडेगार्ड, इडुआर्ड एनकेइटा र गाब्रियल मार्टिनेलीले गोल गरे । ब्राइटनका काओरु मितोमा र इभान फर्गुसनले गोल फर्काए ।
खेलको दोस्रो मिनेटमा नै बुकायो साकाको गोलबाट आर्सनलले १–० को अग्रता लिन सफल भयो । ३९औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
४७औं मिनेटमा इडवार्ड एनकेइटाले गोल गरेपछि आर्सनल खेलमा ३–० को आरामदायी स्थितिमा अघि बढ्यो । ६५औं मिनेटमा कोओरु मितोमाले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । उनले पास्कल ग्रसको पासमा गोल गर्न सफल भएका थिए ।
७१औं मिनेटमा ओडेगार्डको पासमा गाब्रिल मार्टिनेलीले गोल गर्दै आर्सनलाई ४–१ ले अघि बढाए । ७७औं मिनेटमा इभान फर्गुसनले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए । ८९औं मिनेटमा काओरु मितोमाले गोल गरेपनि भिएआरबाट गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल विजयी हुन सफल भयो ।
यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई ७ अंकले पछि पारेको छ । आर्सनलको १६ खेलबाट ४३ अंक पुगेको छ । समान खेलबाटै सिटीको ३६ अंक छ । पराजित ब्राइटन २४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
प्रिमियर लिगकै अर्काे खेलमा क्रिस्टल प्यालेसले बर्नमाउथलाई २–० र फुलहमले साउथह्याम्टनलाई २–१ ले पराजित गर्दा न्यूक्यासल लिड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।