बर्नेमाउथलाई ३-० ले पराजित गर्दै शनिबार राति आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । आर्सनललाई जितमान कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै, विलियम सालिबाले एक गोल थपे ।
जितसँगै ३ खेलबाट ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा छ । ७ अंक सहित टोटनहम दोस्रो स्थानमा छ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा फुलह्याम विजयी भएको छ । शनिबार भएको खेलमा फुलह्यामले ब्रेन्टफोर्डमाथि ३–२ गोल अन्तरको कठिन जीत दर्ता गरेको हो । घरेलु मैदानमा फुलह्यामले पहिलो मिनेटमै अग्रता लिएको थियो ।
उसका लागि बेवी रेइडले गोल गरेका थिए । २० औं मिनेटमा जाहो फेलिनाले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । ४४ औं मिनेटमा ब्रेन्टफोर्डका लागि क्रिष्टियन नोरगार्डले गोल गरेपछि पहिलो हाफमा फुलह्याम २–१ को अवस्थामा रहेको थियो ।
७१ औं मिनेटमा ब्रेन्टफोर्डका लागि इभान टोनीले गोल गर्दै खेल बरबारीमा ल्याएका थिए । तर ९० औं मिनेटमा एलेक्जेन्डर मिट्रोभीले गोल गरेपछि फुलह्यामले स्पष्ट ३ अंक लिन सफल भयो ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा साउथ ह्याम्पटनले लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । यस्तै एभर्टन र नोटिङघम फरेस्टले भने १–१ गोलको बराबरी खेलेका थिए ।
यस्तै, इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले पहिलो जीत दर्ता गरेको छ । शनिबारको खेलमा क्रिष्टलले एस्टनो भिल्लामाथि ३–१ गोलको पुनरागमन जीत दर्ता गरेको हो । घरेलु मैदानमा क्रिष्ट पहिलो हाफको पाँचौं मिनेटमा पछि परेको थियो । एस्टोनका लागि ओले वाट्किन्सले गोल गर्दै अग्रता दिलाएका थिए । तर १ गोलले पछि परेको २ मिनेटमै क्रिष्टलले बराबरी गरेको थियो ।
उसका लागि विलफर्ड जाहाले बरबरी गोल गरेका हुन् । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा बाँकी २ गोल क्रिष्टलले दोस्रो हाफमा गरेको थियो । ५८ औं मिनेटमा जाहाले व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेपछि क्रिष्टल २–१ ले अघि बढेको थियो ।
७१ औं मिनेटमा जीन माटेटाले गोल गरेपछि क्रिष्टलले जारी सिजनमा पहिलो पटक स्पष्ट जित निकाल्न सफल भयो । ३ खेलमा क्रिष्टलको ४ अंक रहेको छ ।