महिला युरोकपको उपाधि इंग्ल्याण्डले जितेको छ । फाइनलमा जर्मनीलाई दुई एकले हराउँदै पहिलो पटक इंग्ल्याण्डले ठूलो प्रतियोगिताको उपाधि जितेको हो ।
वेम्ब्ले रंगशालामा भएको फाइनलमा इंग्ल्याण्डले अतिरीक्त समयमा जित निकाल्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा दुबै टिमले एक एक गोल गरेका थिए ।
खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएकी थिइन । तर ७९ औं मिनेटमा जर्मनीका लागि मगुलले गोल गर्दै खेल बराबरी गर्न सफल भइन ।
निर्धारीत ९० मिनेटमा दुबै टिमबाट एक एक गोलको बराबरी भएपछि खेल अतिरीक्त समयमा धकेलिएको थियो । जसमा एक सय १० औं मिनेटमा केलीले गोल गर्दै टिमलाई पहिलो पटक ठूलो प्रतियोगिताको उपाधि दिलाइन । उनी सब्सिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेकी थिइन् ।
आठ पटकको च्याम्पियन जर्मनीविरुद्ध इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरेको थियो । कुल ८७ हजार एक सय ९२ समर्थकको उपस्थिती रहेको खेलमा विजयी गोल गरेकी केलीले गोलको खुसी मनाउनका लागि केहि समय कुर्नुपरेको थियो ।
इंग्ल्याण्डको महिला टिमको इतिहासकै ठूलो उपाधि जित्नका लागि यो पटक टिमको प्रदर्शन उत्कृष्ट रह्यो । टिमका खेलाडीले उपाधिको खुसी पोष्ट म्याच कन्फेन्समा पनि टेबलमा नै उफ्रिएर मनाएका थिए ।