आइसिसी टि२० विश्वकप अन्तर्गत अष्ट्रेलियाले सुपर १२ को समूह १ मा दोस्रो जित निकालेको छ । प्रतियोगितामा चौथो खेल खेलिरहेको अष्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले पराजित गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राखेको हो ।
अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा शीर्षक्रम चल्न नसक्दा आयरल्यान्ड लक्ष्यसम्म पुग्न सकेन । आयरल्यान्ड १९ औं ओभरको पहिलो बलमा १ सय ३७ रन जोड्दै अलआउट भयो । मध्यक्रममा लोरन टकरले उत्कृष्ट ब्याटिङ गरेपनि अन्य ब्याटरबाट राम्रो साथ पाउन सकेनन् । उनले ४८ बलमा ९ चौका र १ छक्कासहित नटआउट ७१ रन जोडे ।
दोस्रो ओभरको अन्तिम बलमा कप्तान एन्डी बालबर्नी प्याट कमिन्सको बलमा बोल्ड भएपछि क्रिजमा आएका टकर अन्तिमसम्म नटआउट रहे । बालबर्नी ६ रनमा आउट भएका थिए । लगत्तै तेस्रो ओभरमा ग्लेन म्याक्सवेलले पल स्टर्लिङ (११) र ह्यारी टेक्टर (६) लाई पेभेलियन फर्काउँदै अष्ट्रेलियालाई बलियो बनाए ।
चौथो ओभरमा मिचेल स्टार्कले जर्ज डकरेल र कर्टिस क्याम्फरलाई बोल्ड गरेपछि आयरल्यान्ड २५-५ को दयनीय स्थितिमा पुगेको थियो । ग्यारेथ डेलनीले १४ रन जोड्दै टकरसँग ४३ रनको साझेदारी गरे । त्यसपछि आयरल्यान्डले नियमित अन्तरमा विकेट गुमाउँदा हार बेहोर्यो ।
मार्क अडेर (११), फिओन ह्याण्ड (६), ब्यारी मकार्थी (३) र जश लिटल (१) ले राम्रो साथ दिन सकेनन् । अष्ट्रेलियाका लागि कमिन्स, म्याक्सवेल, स्टार्क र एडम जाम्पाले २-२ तथा मार्कस स्टोइनीसले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । अष्ट्रेलिया कप्तान आरोन फिन्चले ४४ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रन बनाए । ओपनर डेविड वार्नर ३ रनमै आउट भएका थिए । मिचेल मार्श २२ बलमा २ चौका र २ छक्कासहित २८ र ग्लेन म्याक्सवेल १३ रनमा आउट भए ।
मार्कस स्टोइनिस २५ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । टिम डेविड १० बलमा २ चौकासहित १५ र म्याथ्यु वेड ७ रनमा अविजित रहे । आयरल्यान्डका ब्यारी म्याकार्थीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । जोशुवा लिटिलले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।
यस नतिजासँगै समूह १ मा सेमिफाइनलको समीकरण थप रोमान्चक भएको छ । अब न्युजिल्यान्ड र अष्ट्रेलियाको समान ५-५ अंक रहेको छ । अष्ट्रेलियाले ४ खेल तथा न्युजिल्यान्डले ३ खेल खेलेको छ । इंग्ल्यान्डको ३ खेलमा ३ र आयरल्याण्डको ४ खेलमा ३ अंक छ । श्रीलंका र अफगानिस्तान ३ खेलमा २-२ अंकसाथ पुछारमा छन् ।