फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी मा अमेरिका र इंग्ल्यान्डको खेल गोलरहित बराबरीमा सकिएको छ ।
खेलको दशौं मिनेटमा रहिम स्टर्लिङको कटब्याकमा ह्यारी केनको प्रहार अमेरिकी डिफेन्डर टिम रीमले विफल पारे । लगत्तै प्राप्त कर्नरको रिबाउन्डमा मेसन माउन्टको प्रहार आकाशियो । २५ अौं मिनेटमा टिम वेहको क्रसमा वेस्टन मक्केनीको भली पोस्टभन्दा थोरै माथिबाट जाँदा अमेरिका अग्रता लिनबाट चुक्यो ।
३३ अौं मिनेटमा अमेरिकाका लागि क्रसबार बाधक बन्यो । क्रिस्टियन पुलिसिचले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलरक्षक पिकफर्डले सहि ठम्याउन नसक्दा क्रसबारमा लागेर बाहिरियो । ४५ अौं मिनेटमा लुक शाको कटब्याकलाई बुकायो साकाले पोस्टको दिशा दिन सकेनन् । लगत्तै मेसन माउन्टको प्रहारलाई गोलरक्षक म्याट टर्नरले विफल पारे ।
दोस्रो हाफमा दुवै टोलीले विपक्षी गोलरक्षकलाई समस्या दिन सकेनन् । यस बराबरीले समूह बी को नकआउट समिकरण भने खुला बनेको छ । सबै ४ टोलीको अघि बढ्ने सम्भावना छ । इंग्ल्यान्ड ४ अंक, इरान ३ अंक, अमेरिका २ अंक र वेल्स १ अंक जोड्दै समुहबाट अघि बढ्ने लक्ष्यमा छन् ।