जर्मन क्लब बायर्न म्युनिख लगातार चौथो खेलमा जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको चौथो खेलमा चेक रिपब्लिक क्लब भिक्टोरिया प्लेजेनमाथि ४–२ को जित निकाल्दै बायर्नले दुई खेल बाँकी छँदै अपराजित रहेर अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।
बायर्नको सहज जितमा लियोन गोरेट्जकाले दुई तथा साडियो माने र थोमस मुलरले समान एक गोल गरे । प्लेजेनका एडाम भिकानोभा र जान क्लिमेन्टले गोल गरे ।
प्लेजेनमा बुधबार राति भएको खेलको १०औं मिनेटमा मानेको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । उनले लियोन गोरेट्जकाको पासमा गोल गर्न सफल भएका थिए ।
१४औं मिनेटमा थोमस मुलरले किङ्सले कोमानको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । २५औं मिनेटमा लियोन गोरेट्जकाले गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । उनले थोमस मुलरको पासमा गोल गर्न सफल भएका थिए ।
३५औं मिनेटमा लियोन गोरेट्जकाले लिरोए सानेको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बायर्न पहिलो हाफमै ४–० ले अघि बढ्यो ।
त्यसपछि घरेलु टोली भिक्टोरिया प्लेजेनले दुई गोल गरेपनि जितको लागि पर्याप्त भएन । ६२औं मिनेटमा एडाम भिकानोभाले तथा ७५औं मिनेटमा जान क्लिमेन्टले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएपनि टोलीको हार टार्न सकेन ।
यो जितसँगै समूह ‘सी’ मा लगातार चौथो जित निकालेको बायर्न १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित प्लेजने अंकविहीन हुँदै पुछारमा छ ।
यही समूहको अर्काे खेलमा क्याटलान क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मिलानले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यस नतिजाले बार्सिलोनालाई नकआउट चरण पुग्न दवाव बढेको छ । इन्टरको ७ तथा बार्सिलोनाको ४ अंक छ ।