बेल्जियम फुटबल टोलीका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कतारमा जारी विश्व कपमा बेल्जियम समूह चरणबाटै बाहिरिएपछि हाजार्डले सन्यासको निर्णय लिएका छन् ।
विश्व फुटबलको सर्वाधिक महत्वपूर्ण प्रतियोगिताको समूह चरणका ३ खेलबाट ४ अंक जोड्दै बाहिरिएको थियो । टोलीले एक मात्र खेल क्यानाडाविरुद्ध जितेको थियो । टोलीको खराब प्रदर्शन पछि रोबेर्टो मार्टिन्सले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।
‘आज एउटा अध्याय अन्त्य भएको छ,’ हाजार्डले इन्स्टाग्राममा लेखेका छन्,‘ तपाईहरुको मायाका लागि धन्यवाद । विना शर्तको समर्थनका लागि धन्यवाद । २००८ यताको सबै सुखद क्षणका लागि धन्यवाद ।’ उनले आफूले अन्तर्राष्ट्रिय यात्राको अन्त्यको घोषणा गर्दै नयाँ पुस्ता तयार भएको समेत बताएका छन् । उनले टोलीलाई आफूले मिस गर्ने पनि बताएका छन् ।
उनी बेल्जियमका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको सुचीमा चौथो स्थानमा छन् । उनले बेल्जियमका लागि १ सय २६ खेल खेलेका थिए । बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा हाजार्ड दोस्रो स्थानमा छन् । हाजार्डको नाममा ३३ गोल छ । उनी भन्दा अगाडि रामेलु लुकाकु छन् ।