बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ ।
नेपालले बंगलादेशविरुद्ध ३–१ गोल अन्तरको जीत दर्ता गर्दा अन्जन विष्टले ह्याट्रिक गरे ।
उनले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए ।
अन्जन नेपालबाट ह्याट्रिक गर्ने छैटौं खेलाडी पनि बनेका छन् ।
सन् २०१६ मा नवयुग श्रेष्ठले बंगबन्धु गोल्डकपमा ह्याट्रिक गरेयता अन्जनले नेपालका लागि पहिलो ह्याट्रिक गरे ।
नेपालका लागि अन्जनले १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
विमल घर्ति मगरको फ्रिकिकमा अन्जनले गोल गरेका थिए ।
यस्तै २७ औं मिनेटमा अन्जनले नै व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल २–० ले अघि बढेको थियो ।
तेज तामाङले प्रहार गरेको बल बंगलादेशका गोलकिपरले बाहिर पठाउँदा आएको बललाई अन्जनले गोलमा परिणत गरे ।
अन्जनले ३८ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । उनको ह्याट्रिकसँगै नेपालले पहिलो हाफमै ३–० गोलको अग्रता लिएको थियो ।
दोस्रो हाफमा नेपालले गोल थप्न भने सकेन । बंगलादेशका लागि सजाद होसेनले १ गोल फर्काएर अग्रता ३–मा झारेका थिए ।
त्यसपछि थप गोल नभएपछि नेपाल अन्ततः ३–१ गोल अन्तरले विजयी भयो ।