इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सिजनको दोस्रो हार बेहोरेको छ । अग्रता जोगाउन नसक्दा चेल्सी घरेलु टोली साउथह्याम्टनसँग २–१ ले पराजित भएको हो ।
घरेलु टोली साउथह्याम्टनको जितमा रोमियो लाभिया र एडम आर्मस्ट्रङले गोल गरे । चेल्सीका रहिम स्टर्लिङको गोल सान्त्वना बन्यो ।
सेन्ट मेरिज स्टेडियममा मंगलबार राति भएको खेलको २३औं मिनेटमा रहिमको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । तर, चेल्सीले त्यो अग्रता लामो समय जोगाउन सकेन । २८औं मिनेटमा रोमियो लाभियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा आर्मस्ट्रङले गोल गर्दै साउथह्याम्टनलाई २–१ ले अघि बढाए । दोस्रो हाफमा दुवै टोलीले केही प्रयास गरेपनि सफल हुन नसक्दा पहिलो हाफको नतिजा नै साउथह्याम्टनको जितमा पर्याप्त बन्यो ।
घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि चेल्सीले गोल गर्न नसक्दा सिजनको दोस्रो हार बेहोर्न बाध्य बन्यो । यसअघि चेल्सी लिड्ससँग ३-० ले पराजित भएको थियो । यो हारपछि चेल्सी ५ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा रहेको छ । साउथह्याम्टनको समान ७ अंक नै रहेपनि हेड टु हेडमा सातौं स्थानमा छ ।
‘यसअघि ‘अग्रता जोगाउन नसक्दा चेल्सीको दोस्रो हार’ हुनुपर्नेमा अन्यथा हुन गएकोले सच्याइएको छ । – सम्पादक’