विश्व नम्बर १ खेलाडी इगा स्वाटेकले शनिबार वर्षको दोस्रो ठूलो उपाधिका रूपमा यूएस ओपन जितेकी छिन् । उनले पाँचौं वरीयता प्राप्त ट्युनेसियाकी ओन्स जाबेरलाई ६–२, ७–६ (७/५) ले पराजित गरिन् ।

एकपक्षीय पहिलो सेट जितेयता २१ वर्षीया पोलिस खेलाडी स्वाटेकले दोस्रो सेट भने टाइब्रेकरमा आफ्नो पक्षमा पारेकी थिइन् । उनको यो तेस्रो ग्रान्ड स्लाम उपाधि हो ।
यसअघि उनले दुईपल्ट फ्रेन्च ओपन जितिसकेकी छिन् । जाबेर भने विम्बल्डन फाइनलमा पनि पराजित भएकी थिइन् । यो जितपछि स्वाटेकको शीर्ष वरीयता कायम रहनेछ । जाबेर भने नयाँ वरीयता जारी हुँदा त्यसको दोस्रो स्थानमा हुनेछिन् ।