१३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका दुई खेलाडीसहित ३ खेलाडी अन्तर्राष्ट्रिय उसु महासंघको २०२२ आईडब्लूयूएफ एथलिट अफ द एयरको विभिन्न विधाको मनोनयमा परेका छन् । १३ औं सागका स्वर्ण पदक विजेता दीपक हमाल, जुनी राई र एलिस मारिक अलग अलग विधाको मनोनयमा परेका हुन् ।
तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं सागमा स्वर्ण जितेका दीपक उसुको थाउलो एथलिट अफ द एयरको मनोनयमा परेका हुन् । न्यूजिल्यान्ड, इजिप्ट, चिनलगायतका १० खेलाडी सो विधाको मनोनयमा परेका छन् ।
त्यस्तै १३ औं सागकी स्वर्ण पदक विजेता जुनी उसुको सान्डातर्फ एथलिट अफ द एयरको मनोनयमा परेकी हुन् । जुनीसहित भारत, चीन, फ्रान्स र हङकङका खेलाडी सो विधामा मनोनयमा परेका छन् ।
गत डिसेम्बरमा इन्डोनेसियामा जुनियर च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका एलिस उसुको थाउलोतर्फ राइजिङ स्टार अफ द एयरको मनोयनमा परेको आइडब्लूयूएफको वेभसाइडमा उल्लेख गरिएको छ । एलिससँगै सो विधामा न्यूजिल्यान्ड, चीन, इटाली, फ्रान्स र दक्षिण कोरियाका खेलाडी मनोनयमा परेका छन् ।
उसुको अन्तर्राष्ट्रिय महासंघको उत्कृष्ट खेलाडीको मनोनयनमा पर्नु गौरवको विषय भएको कर्णाली प्रदेश सुर्खेतका दीपकले बताए । ‘नेपालमा पनि उसु खेलिन्छ भन्ने सन्देश दिन यो मनोनयनले मद्दत पुगेको छ’, उनले भने, ‘देशलाई चिनाउनका लागि आफू पनि त्यसको एउटा हिस्सा हुन पाउँदा खुसी लाग्छ । यसले अझै राम्रो गर्न प्रेरणा मिलेको छ ।’
जुनी नेपाल पुलिस क्लब र एलिस प्रदेश १ बाट राष्ट्रिय प्रतियोगिता खेल्नेछन् । आईडब्लूयूएफको वेबसाइटमा गएर फेब्रुअरी १८ सम्म उनीहरुलाई भोट गर्न सकिन्छ ।