भुटानले खेलको अन्तिम सेकेन्डमा बजर बिटर प्रहार गरेपछि नेपाली पुरुष राष्ट्रिय बास्केटबल टोली फाइभ नेसन च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश गर्नबाट बन्चित भएको छ । मंगलबार सम्पन्न निकै प्रतिस्पर्धात्मक सेमिफाइनलमा भुटानले ६१-६० को जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।
कप्तान सदिश प्रधान चोटका कारण खेल्न नसकेपनि नेपालले भुटानलाई निकै कडा चुनौती पेश गरेको थियो । लिग चरणमा भुटानसँग हार बेहोरेको नेपालले त्यसको बदला लिन नजिक पुगेपनि अन्तिम सेकेन्डमा सम्हालिन नसक्दा हार बेहोर्न पुग्यो ।
सेमिफाइनलको पहिलो क्वाटरमा भुटानले नेपालविरुद्ध १६-११ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा नेपालले १६ अंक जोड्दा भुटानले १५ अंक जोड्न सफल भयो । हाफ टाइममा नेपाल २७-३१ ले पछि रहेको थियो ।
तेस्रो क्वाटरको सुरुवातमा नेपालले खेलमा अग्रता लिन सफल भयो । भुटानलाई कुनै स्कोर जोड्न नदिई नेपालले लगातार ८ अंक जोडेपछि खेलमा नेपालले पकड जमाएको थियो । आयुष सिंहले ३ पोइन्टर प्रहार गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
तेस्रो क्वाटरको सुरुवाती समयमा समग्र ३५-३१ को अग्रता लिएको नेपालले आफ्नो अग्रता जोगाउन भने सकेन । भुटानले पुनरागमन गर्दै तेस्रो क्वाटरको अन्त्यमा स्कोर ४३-४० को अवस्थामा ल्याएको थियो ।
चौथो क्वाटरको सुरुवात निकै प्रतिस्पर्धात्मक रहँदा नेपाल ४६-४६ को बराबरी गर्न सफल भएको थियो । खेलमा ६ मिनेट बाँकी हुँदा भुटान ४७-४६ को स्थितिमा रहँदा विजय बुर्जाले ३ पोइन्ट प्रहार गरेपछि नेपालले अग्रता लिएको थियो ।
लगत्तै भुटानले ४९-४९ स्कोर बनाएपनि आयुषले ३ पोइन्ट जोड्दै नेपालको अग्रता पुन: स्थापना गरे । नेपाल ५४-५३ को अग्रतामा रहँदा असिम श्रेष्ठले २ पोइन्ट जोड्ने क्रममा फल भयो र उक्त फ्री थ्रो कन्भर्ट गरेर नेपाल ५७-५३ को अग्रता लिन सफल रहयो ।
भुटानले त्यसपछि खेललाई १ अंकको अन्तरमा झारेपनि नेपालले अग्रता भने जोगाइरहेको थियो । खेलको १७ सेकेन्ड बाँकीमा ५९-५८ को स्थितिमा हुँदा भुटानले फल गरेपछि नेपालले अग्रता बढाउने अवसर पाएको थियो । विजयले पहिलो फ्री थ्रो कन्भर्ट गर्दै नेपाललाई २ अंकले अघि बढाए ।
तर दोस्रो फ्री थ्रोमा विजय चुकेपछि बढेको भुटानको आक्रमण खेलमा निर्णायक सावित भयो । भुटानले गरेको स्कोरको प्रयास असफल भएपछि नेपाली खेलाडीले बल पोसेसन लिन नसक्दा फुस्किएको बलमा भुटानका खेलाडीले बजर बिटर प्रहार गर्दै ६१-६० को जित दिलाए ।
प्रशिक्षक नृपेश श्रेष्ठले टोलीले राम्रो प्रदर्शन गरेपनि हार बेहोर्द निकै दुख लागेको बताए । उनले अन्तिम सेकेन्डमा खेल हारेपनि खेलाडीको मिहिनेत र प्रदर्शनबाट खुसी रहेको बताए । उनले युवा खेलाडीले आउने दिनमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास रहेको जनाए ।
अब विहीबार हुने फाइनलमा भुटानले उपाधिका लागि बंगलादेशको सामना गर्नेछ । बंगलादेशले पहिलो सेमिफाइनलमा पाकिस्तानलाई ७९-६५ ले हराएको थियो ।
नेपाल लिग चरणमा भुटानसँग पराजित भएपनि अंक तालिकाको शीर्षस्थानमा रहेको थियो । नेपालले पहिलो खेलमा हार बेहोरेपनि त्यसपछि पाकिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराउँदै लय समातेको थियो । तर सेमिफाइनलमा हार बेहोरेसँगै नेपालको उपाधि जित्ने सपना तुहिएको छ ।