म्याड्रिड — ओसमन डेम्बेलेले पहिलो हाफमा गरेको गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडलाई १–० ले हराएको छ । यससँगै लिग तालिकाको शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिएको छ ।

यो जितपछि बार्सिलोनाको ४१ अंक भएको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ र उसको ३८ अंक छ । खेलको अन्त्यमा बार्सिलोना र एटलेटिको दुवै १० खेलाडीमा सीमित रहे ।
एटलेटिको भने हारसँगै पाँचौं स्थानमा झरेको छ । रियल बेटिसले भने चौथो स्थान कब्जा गर्न अर्को खेलमा रायो भाल्कानोलाई २–१ ले हरायो । तेस्रो स्थानमा रहेको रियल सोसिडाड पनि आल्मेरियामाथि २–० ले विजयी रह्यो ।