इंग्लिस क्लब चेल्सीले युरोपेली च्याम्पियन्स लिग २०२२-२३ अन्तर्गत समूह चरणको पहिलो खेलमा क्रोएसियाको डिनामो जाग्रेबसँग हार बेहोरेको छ ।
जाग्रेबले घरेलु मैदानमा चेल्सीलाई १-० ले पराजित गरेको हो । जाग्रेबको जितमा मिस्लाभ ओर्सिचले १३ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । उनले मिडफिल्डबाट एकल प्रयासमा बल बढाउँदै पेनाल्टी क्षेत्रभित्र पुगेर सुन्दर फिनिस गर्दै अग्रता दिलाएका थिए ।
चेल्सीले बार्सिलोनाबाट भित्र्याएका फरवार्ड पिएर एमेरिक औबामेयाङलाई सुरुवाती रोजाइमा खेलाउँदै डेब्यु दिएपनि उनले गोल गर्न सकेनन् । दोस्रो हाफको ६० औं मिनेटमा उनको स्थानमा अर्मान्डो ब्रोजा मैदान प्रवेश गरेका थिए । तर अन्तिम समयमा लगातार आक्रमण गरेपनि चेल्सीले जाग्रेबको डिफेन्स चिर्न सकेन । रिस जेम्सको प्रहार पोस्टमा लागेर फर्कनु चेल्सीको लागि दुर्भाग्य रहयो ।
जाग्रेबको च्याम्पियन्स लिगको पछिल्लो ४३ खेलमा यो छैटौं जित हो । यस समूहमा आज नै एसी मिलान र आरबी साल्जबर्गबीच खेल हुँदैछ ।