फुटबल खेलमा गोल गरेपछि खुसियाली मनाउँदा खर्च हुने समय अब हरेक हाफ पछि थप गरिने समय गणना गर्दा जोडिने भएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा फुटबलको नियम स्थापित गर्ने संस्था इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आईएफएबी) ले सन् २०२३/२४ सिजनका लागि नियमहरु परिमार्जन गर्ने क्रममा यो निर्णय लिएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले खेल संचालनका लागि लागु गर्दै आएको नियम (लज अफ द गेम) आईएफएबीले नै संरक्षण तथा समायोजन गर्दै आएको छ ।
लज अफ द गेमको धारा ७ को उपधारा ३ मा ‘खर्च भएको समय थप गरिने’ शीर्षकमा अब गोल सेलेब्रेसनलाई पनि बेग्लै शीर्षक राखेर समावेश गरिने भएको हो । यसअघि गोल सेलेब्रेसनलाई समय थपको अन्य कारणको रुपमा लिइने गरेको थियो ।
नयाँ नियम अनुसार अब तल दिइएका घटनालाई मध्यनजर गर्दै रेफ्रीले हाफको अन्त्यमा समय थप्नेछन् :
- खेलाडी परिवर्तन
- चोट लागेका खेलाडीको उपचार वा परिवर्तन
- समय खेर फालेको
- कार्ड दिएपछि खेल रोकिएको
- प्रतियोगिता नियमअनुसार लिइने कुलिङ ब्रेक वा ड्रिंक्स ब्रेक
- भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को चेक वा रिभ्यु
- गोल सेलेब्रेसन
- खेल रोकिनुको अन्य कारण (जस्तै बाह्य वस्तुबाट खेल रोकिनु, आदि)
यो नियम सन् २०२३/२४ सिजनदेखि विश्वभर लागु हुनेछ । अन्तर्राष्ट्रिय क्यालेन्डर अनुसार नयाँ सिजन सुरु भइसकेको छ र अधिकांश ठूला लिगमा ट्रान्सफर विन्डो पनि खुला छ ।